Saturday , June 8 2019
Home / Featured / प्रेम जीवनको लक्ष्य हो भने त प्रेम र सहजीवन भइसकेपछि जीवनको लक्ष्य सकिनुपर्ने नि ? त्यसैले जीवनको अंश मात्र हो प्रेम ।

प्रेम जीवनको लक्ष्य हो भने त प्रेम र सहजीवन भइसकेपछि जीवनको लक्ष्य सकिनुपर्ने नि ? त्यसैले जीवनको अंश मात्र हो प्रेम ।

स्कुलमा लेखेको एउटा प्रेमपत्रको रिप्लाई क्याम्पस पढ्दा आउँछ । एउटा प्रेमिल मान्छेका लागि त्यो समय कति कष्टकर थियो होला ? समय कसरी बित्यो होला ? त्यो पत्रको जवाफ आउँदा कति आनन्द भयो होला । र प्रेम स्वीकारियो कि अस्वीकारियो । जब आफूले चाहेको मान्छेको रिप्लाई ढिलो आउँछ र त्यो पनि स्वीकार हुँदैन भने त्यो प्रेमीको मनमा के गुज्रिन्छ होला ? यस्तै काण्डमा मिसिएका थिए आहुति । आहुतिसँग गरिएको प्रेम–संवाद :

‘सबैभन्दा सुन्दर उनी नै लाग्थ्यो । बौद्धिकताको सुन्दरता र बाहिरी सुन्दरता दुबै थियो’, लेखक तथा विश्लेषक आहुति हाँस्दै भन्छन्, ‘उनी नेवार परिवारकी थिइन् । मलाई सबैथोक मन प¥यो । मैले पत्र लेखेँ र साथीमार्फत पत्र दिन लगाएको थिएँ ।’ उनको विचारमा त्यो उमेरमा सबैले त्यसै गर्छन् । कक्षा १० मा हुँदा लेखेका थिए । क्याम्पस पढ्न थालेपछि रिप्लाई गरेकी थिइन् । तर, उनले ‘आँट गर्न सकिनँ’ भनेकी थिइन्, पत्रमा । ‘जातका कारण हाम्रो प्रेम अगाडि बढ्न सकेन । त्यो हाम्रो दोष होइन समाजको थियो’, उनी गम्भीर मुद्रामा भन्छन् ।

पुँजीवादी समाज भइसकेपछि अझ धेरै नै मानिससँग भेटघाट हुन्छ । किशोवस्थादेखि यौनको निम्ति मानिसका अंग र हर्माेन परिपक्व हुँदै जान्छन् । स्वाभाविकरूपमा एक आपसमा आकर्षण हुन्छ ।

आहुतीको स्कुल पढ्दादेखि नै साहित्यमा रुचि थियो । प्रेमपत्र लेख्न खप्पिस थिए । उनी साथीभाइका प्रेमपत्र पनि लेखिदिन्थे । तर, आफैँले भने पहिलोचोटि आफ्नी प्रेमीकालाई लेखेको पत्र साथीमार्फत् दिएका हुन् । ‘प्रेमी र प्रेमिकामा केही कबुल हुन्थे, अपिल हुन्थे । त्यो मेरो प्रेमपत्रमा पनि थियो’, उनी हाँस्दै भन्छन् ।

प्रेमिकाले प्रेम अस्वीकार गर्दा केही समय त उनलाई मानसिक पीडा पनि भयो । मनमा बादल लागेझैँ भएको थियो । तर, उनको किशोरवस्थाको प्रेमले जीवनको जटिल मोडमा खासै ठूलो असर परेन । केही समयपछि नै मनबाट हटिहालिन् । जीवनमा आघात पु¥याउने चोट लागेन । आफ्नी पहिलो प्रेमिकाको बारेमा आहुति भन्छन्, ‘मनले चाहेको मान्छे सुन्दर हुन्छ । हरेका कुरामा सुन्दर देखिनु स्वाभविक हो । उनी त्यस्तै थिइन् ।’

यौन प्रेमको केन्द्रीय तत्व हो । ढाँटछल गरेर रंगरोगन गरेर कुरा नगर्दा हुन्छ । त्यो यौन जीवनलाई व्यवस्थित, सहज र जिम्मेवारीपूर्वक सुखमय बनाउनका निम्ति मन परेको जोडी खोजेको हो नि । त्यसपछि अरू जिम्मेवारी थपिन्छ ।

प्रेमका आयाम धेरैथरीका छन् । प्रेम मानव समाजको जीव वैज्ञानिक अवधारणाअनुसार विपरीत लिङ्गी एक ठाउँमा बस्नुपर्ने हुन्छ । जीव वैज्ञानिक बनावट आपसमा आकर्षित गर्ने खालका हुन्छन् । समाजको निर्माण र सहजीवनको निर्माण गर्ने । सहजीवनको निर्माणसँगै गाँसिन्छ समाजको निर्माण । मानव जातिको वा समाज निरन्तरताको निम्ति प्रजनन आवश्यक हुन्छ । ‘प्रजनन र समाजिक जीवनको आवश्यकतासँग महिला र पुरुषको सम्बन्ध गाँसिएको छ । हजारौँ र लाखौँ वर्षदेखि यही तरिकाबाटै सम्बन्धमा रहँदै आएको छ’, आहुति भन्छन् । उनको बुझाइमा प्रेम र प्रेमपछिको जैविक सम्बन्धले सन्तान उत्पादन गर्ने र समाज निर्माण गर्ने प्रक्रिया चलिआएको छ । यस्तो सम्बन्धलाई समाजमा विभिन्न नाम दिइएको छ । अहिले प्रेमको अवधारणाचाहिँ पुँजीवादी समाजको सन्तान उत्पादन गर्नु हो ।

नयाँ युगको प्रेम 
कलकारखानाको विकाससँगै प्रेमको विकास भएको हो भन्ने लाग्छ आहुतिलाई । ‘मेसिन कारखाना, उद्योगधन्दा, बजार, शिक्षण संस्था इत्यादिको विकास भएसँगै व्यक्तिले आफ्नो इच्छाअनुसार जोडी छान्न सक्ने परिस्थितिको निर्माण भयो,’ उनी भन्छन्, ‘त्योभन्दा पहिले मानिस सामन्तवादी समाजमा बस्थे । एउटा निश्चित कुलमा आधारित हुन्थ्यो ।’ सामन्तवादी समाज निश्चित इलाका र निश्चित जाति आधारित हुन्थ्यो । महिलाहरू घरभित्र थुनिएर बस्थे । त्यसले जोडी छान्न र भेट हुन समस्या पैदा गथ्र्यो । अर्काे कुरा भेट हुने ठाउँ नभएपछि जोडी छान्न सकिँदैनथ्यो ।

पुँजीवादले मानिसहरू एक ठाउँमा जम्मा गर्ने विभिन्न भाषा बोल्ने विभिन्न जाति, धर्म, सम्प्रदाय र इलाकाका मानिसहरू एकै ठाउँमा जम्मा हुने स्थितिको सिर्जना भयो । महिला पुरुषको यौन जीवन सहज बन्यो । जीवनको आयामको पर्यावरण तय भयो । एक प्रकारले आफैँले आफ्नो जोडी रोज्ने (कुनै घरको लमीले होइन) स्थितिको सिर्जना गरिदियो । उनी भन्छन्, ‘कारखानामा दुईजना मजदुर छन् । परापरागत विवाह गर्नुपर्दा घरमा जानुप¥यो, जोडी खोज्न अर्काेलाई भन्नुप¥यो । उनीहरूसँग त्यो समय हुँदैनथ्यो । समय नभएपछि कारखानामै खोज्नुपर्ने भयो र त्यही जोडी रोज्ने पर्ने स्थिति थियो ।’

प्रेममा दुईओटा चीज जोडिन्छ भन्ने लाग्छ उनलाई । अहुतिका बुझाइमा हिजो सामन्तवादमा महिला पुरुषको सहयोगी, दोस्रो दर्जाकी थिई । अचेल पुरुष सँगसँगै काम गर्ने भएको हुनाले समानतातिर गयो । त्यसैले प्रेमको अवधारणामा दुईओटा आधारभूत खम्बा जोडिन्छ । जोडी छान्ने अधिकार र समानतामा आधारित महिला पुरुष सम्बन्ध । यी दुई तत्वमा आधारित भएर गरिने माया वा आकर्षण, सहजीवनको संकल्प नयाँ युगको प्रेमको अवधारणा बन्यो ।

प्रेमको भ्रुण, मागेर विवाह 
पुँजीवादभन्दा अगाडि पनि विवाहका प्रणाली थिए । मागी विवाह नै मुख्य थियो । अर्काे लुटी विवाह । अर्थात्, लुटेर विवाह गर्ने । साथै गन्र्दभ विवाह वा भाग्ने । अहिलेको प्रेमको भ्रुण भागी विवाह नै हो । त्यतिबेला यसलाई प्रेमचाहिँ भनिँदैनथ्यो ।

अहिले प्रेम समान्यतया जोडी आफैँले रोज्नेतिर केन्द्रित छ । अझ भनौँ महिला–पुरुषको समानतामा आधारित सम्बन्ध बनाउनेतिर उन्मुख छ । यस्तो मायालाई प्रेम भन्न थालिएको छ ।

प्रेमले विपरीत कुरा पनि लिएर आएको छ । त्यसकारण प्रेममा जोडी रोज्न अधिकार भए जोडी छोड्ने अधिकार पनि छ । सामान्यतया कुनै प्रेमीले ‘म छोड्छु’ भन्यो भने त्यो प्रेमको अवधारणाभित्रै पर्छ । प्रेमीले आपसमा केही करार गरेका पनि हुन सक्छन् । ‘एकले अर्कालाई धोका दियो भन्न दुवैले पाउँछन् । किनकि उनीहरूबीचमा भएको करार थियो’, आहुति भन्छन्, ‘तर समाजको फलानोले फलानोलाई धोका दियो भन्ने अधिकार राख्दैन् । प्रेम थियो छुट्न पनि सक्छ । छनौटको अधिकार हो भने छोड्ने कुरा पनि सँगसगै गर्न पाइन्छ ।’

प्रेममा सुन्दरता 
‘अमर प्रेम भन्ने मान्छे नै अमर छैन । प्रेमचाहिँ कसरी अमर हुन्छ ? यो वाहियात कुरा हो’, आहुति हाँस्दै भन्छन् । यो सब मान्छेको कल्पना हो । पूर्वजन्ममा जोडी बाँधेर आएको भन्ने जस्ता बकबास पनि सुन्न पाइन्छ । ती मानिसका आफ्ना कल्पना वा चाहना हुन् । मानिस मरेपछि प्रेमको कुनै अर्थ छैन । मान्छे छैन, प्रेम कहाँ छ । उसलाई सम्झिराख्ने मान्छे हुन सक्ला । उसलाई प्रेम गर्ने मान्छे हुन सक्ला । आहुति भन्छन्, ‘जीवनको अन्त्यसँगै प्रेमको पनि अन्त्य हुन्छ ।’

मानिस जन्मनु र मर्नु जीवनको नवीकरणको प्रक्रिया हो । त्योसँग यसको सम्बन्ध हुन्छ । मानिस प्रेममा विछोड भए पछि मर्ने बौलाउने पनि गर्छन् ।

स्वाभाविक रूपमा प्रेमको घनीभूत अनुरागमा भावनात्मक चोट पर्ने हुँदा यसले दुःख निम्त्याउने गर्छ । केही हदसम्म ठीक छ । प्रेममा विछोड भएपछि त्यो नभए मेरा जिन्दगी सकियो भन्ने पनि छ । यो भावुकतामा गरिने दिमागको गलत मनोदशा हो । उनी भन्छन्, ‘हामी आउनुभन्दा पहिले यो संसारमा मानिस थिए । उनीहरू पनि माया गर्थे । हजारौँ लाखौँको विछोड हुन्थ्यो । तर उनीहरूले जीवनको मुख्य लक्ष्य छोडेनन् ।’

प्रेमलाई जीवनको लक्ष्य ठान्दैनन् उनी । प्रेम जीवनको एउटा अंश मात्र हो । उनी भन्छन्, ‘प्रेम जीवनको लक्ष्य हो भने त प्रेम र सहजीवन भइसकेपछि जीवनको लक्ष्य सकिनुपर्ने नि ? त्यसैले जीवनको अंश मात्र हो प्रेम ।’ समृद्धितिर जाने, सामन्य घरपरिवार बसेका मान्छेले आफ्नो परिवारलाई सुखसयलमा जीवनमा लैजाने वा देशमा क्रान्ति सम्पन्न गर्ने, देशको रक्षा गर्ने, विभिन्न पेशामा आबद्ध भएर सेवा गर्ने यीचाहिँ जीवनका लक्ष्य हुन् । बच्चा जन्माउनु जीवनको लक्ष्य होइन, समाजको स्वाभाविक प्रक्रिया हो । यौन पनि जीवनको लक्ष्य हुँदैन । जीवित जीवनको स्वाभाविक प्रक्रिया मात्रै हो । त्यसकारण जीवनको लक्ष्य नै छुटेजस्तो गरेर सोच्नु हुँदैन प्रेमलाई पनि । आफूले मन पराएको मान्छे पाएन भने जीवनको लक्ष्य नै सकिएजसरी सोच्नु गलत हो ।

अर्काे कुरा एकजना मान्छेसँग प्रेम भइसकेपछि र त्योसँग विछोड भइसकेपछि मनमा अर्काे मनपरेको मान्छे राख्नै सकिन्न भन्ने पनि होइन ।

प्रेम एउटा वस्तुगत आवश्यकता हो । मानवीय आवश्यकताको कुरा हो । अनि प्रेम नै जीवनको लक्ष्यजस्तो त्यही नै जीवनको लक्ष्यजस्तो सोच हुने । त्यो भावुकतावश सोच्ने गलत मनोदशा मात्र हो । त्यो सही कुरा होइन ।

प्रेमको अनुभूति 
मनका विभिन्न तह हुन्छन् । स्वाभाविकरूपमा विपरीत लिंगीबीच एक अर्कासँग आकर्षित हुन्छन् । कोही आकर्षित भएन भने त्यो बिरामी मान्छे हो । किशोर अवस्थामा मान्छे छिटो आकर्षित हुन्छन् । छिटो भावुक हुने उमेर भएको हुनाले भावनात्मक उडान हुने भएकाले त्यसले धेरै कुरा सोच्दैन् ।

अरबौँ मान्छे बाँच्नका निम्ति १८ घण्टा काम गरिरहेका छन् । दुःखको मुल स्रोत त्यहाँ छ नि । त्यो दुःखलाई हे¥यो भने एकजना केटीले छोड्ने केटाका लागि त्यो दुःख केही होइन । त्यसकारण मानिसले चिन्तन कस्तो बनाउने भन्ने हो । उनी भन्छन्, ‘मानव जातिको महादुःखतिर ध्यान दिन थाल्यो, दृष्टिकोण दिन थाल्यो भने यस्ता दुःखका क्षणलाई पनि पचाउन सजिलो हुन्छ ।’ हेर्न दृष्टिकोण पनि ठीक हुन्छ । सबथोकै यही हो भनेर ठाने मान्छे सकिन्छ । विचार निर्माणमा हाम्रा अवधारणा निर्र्माणमा गल्ती गरिरहेको छ । समाजमा त्यस्ता गल्ती भइरहेका छन् । त्यसकारणले गर्दा यस्ता दुर्घटना हुन्छ ।

प्रेम जीवनको लक्ष्य हो भने त प्रेम र सहजीवन भइसकेपछि जीवनको लक्ष्य सकिनुपर्ने नि ? त्यसैले जीवनको अंश मात्र हो प्रेम ।

नेपाली समाज
पहिले नेपाली समाज जातमा आधारित छ । जातमा आधारित समाजमा फरक जातमा विवाह गर्न मिल्दैन थियो, ग¥यो भने सजाय हुन्थ्यो । जातै घटुवा हुन्थ्यो । कतिलाई काटिन्थ्यो । मुलुकी ऐनमा त्यस्तो व्यवस्था थियो । प्राकृतिकरूपमा मान्छे आकर्षित हुन्थे । प्रेममा पर्थे उनीहरूको जातै घट्थ्यो । जात घट्ने भनेको स्वाभाविकरूपमा सुख सुविधा घट्ने हो । अहिलेसम्म वर्गमा जातको प्रस्ट छाप देखिन्छ । डाँडा काट्नुपर्ने घरबार कहीँ नभएको ठाउँमा निकाल्दिने । प्रेम गरेबापत बिछोड भयो भने उसले जिन्दगीभरि विवाह गर्न नपाउने । यस्तो खालको अवस्था थियो । यसको बाबजुत पनि मानिसले आफ्नो सो इच्छाअनुसार मन परेको मान्छेसँग भागेर गन्धर्व विवाह गरेर सिंगो समाजविरुद्ध जोखिम मोले । आहुति भन्छन्, ‘आफ्नो घरबार नहुने ठाउँमा जानु भनेको चानचुने कुरा होइन । अरूको घरमा गएर बस्नुपथ्र्योे । ब्राह्मण कुलमा जन्मिएको महिला दलित कुलमा जन्मिएको केटासँग भाग्यो भने उनीहरू अर्को ठाउँमा गएर दलित जीवन बाँचिरहेका छन् । धेरै ठूलो जोखिम मोलेर गन्धर्व विवाह गरे । र त्यो पराम्परालाई उनीहरूले अगाडि ल्याउँदै ल्याए ।’

प्रेमको तत्व यौन
यौन प्रेमको केन्द्रीय तत्व हो । ढाँटछल गरेर रंगरोगन गरेर कुरा नगर्दा हुन्छ । त्यो यौन जीवनलाई व्यवस्थित, सहज र जिम्मेवारीपूर्वक सुखमय बनाउनका निम्ति मन परेको जोडी खोजेको हो नि । त्यसपछि अरू जिम्मेवारी थपिन्छ । सन्तान उत्पादन हुन्छ । सन्तान उत्पादन गर्ने हुनाले समाज निर्माणसँग गाँसियो । यौन व्यक्तिगत हो भने प्रेम त्यसको सामाजिक पाटो हो । समाज निर्माणको प्रक्रिया निरन्तर र ठीक हुनका निम्ति जोडीहरू एक अर्काप्रति सन्तुष्ट हुनुप¥यो । एकले अर्कालाई बुझ्न सक्ने हुनुप¥यो । आहुति भन्छन्, ‘नचिनेको मान्छेसँग बच्चा जन्माउनु र चिनेको मान्छेको सहजीवनबाट बच्चा जन्माउनुमा आकाश जमिन फरक छ । आहुतिका अनुसार प्रेमको केन्द्रीय तत्व यौन हो, यौन मात्रैचाहिँ होइन । त्योसँगै सन्तान उत्पादनको प्रश्न पनि जोडिएर आउँछ । र प्रेमी प्रेमिका त दुईजना हो नि । समाज आयो त्यहाँ । समाज कस्तो बनाउन भन्ने कुरा आउँछ । आहुति भन्छन्, ‘जस्तो कि यौनमा अराजकता भयो भने समाजमा अराजकता फैलिन्छ ।’

प्रेमको संगठन विवाह 
विवाह भनेको एउटा संगठन हो । प्रेम भनेको यौन र समाजलाई नवीकरण गर्दै लानको निम्ति महिला पुरुषबीचको सम्बन्धको नाम हो । जुन समनतातिर अगाडि बढिरहेको हुन्छ । विवाह भनेको निजी सम्पत्ति वा निजि सम्पतीले आफ्नै जीवन निश्चितरूपमा जोडोस् भनेर निर्माण गरिएको संस्था हो । आहुति भन्छन्, ‘त्यो महिलाको उत्पीडनमा आधारित छ ।’

पुरानो विवाह प्रणालीको कुरा गर्दा विवाहले छुटिने अधिकारको कल्पना गर्दैन । पुरुषलाई मस्त स्वातन्त्रता दिन्छ । पुरुषको स्वातन्त्रताको निरन्तरता गर्छ । महिलाको स्वातन्त्रतालाई अन्त्य गरिदिन्छ । त्यसकारण विवाह भन्ने संस्था निजी सम्पत्तिले जन्माएको संस्था हो । त्यो कुनै आवश्यक संस्था होइन । आजको युगमा हामीले विवाहजस्तो संस्थालाई आधुनीकरण गर्नुपर्ने हुन्छ । तर रीतिथिति बसालेर जुठो खुवाएर गर्न प्रचलन छ हिन्दूको । वा अरूको पनि होला । पुरुषको निम्ति महिलालाई बाँध्ने जुन खालको संगठन निर्माण गरिन्छ । प्रचलन छ त्योचाहिँ ठीक होइन ।

Comments