Wednesday , May 22 2019
Home / Featured / प्राचीन जानकी मन्दिर : मन्दिर होइन दरबार थियो

प्राचीन जानकी मन्दिर : मन्दिर होइन दरबार थियो

संघीय नेपालको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलगत्तै प्राचीन जनकपुर शहरलाई प्रदेश नम्बर २ को छायाँ राजधानीको रूपमा हेरिएको छ । छायाँ यो अर्थमा की यसको अहिलेसम्म घोषणा भएको छैन । त्यसो त नेपाल प्रहरी र राष्टबैंक सहित विभिन्न सरकारी निकायहरूको जनकपुरमा न  प्रदेशको प्रमुख कार्यालय स्थापना भइसकेको छ भने अझै हुने क्रम जारी  छ । तसर्थ जनकपुरलाई सीधै प्रदेश नम्बर २ को राजधानी भन्दा अनुपुयुक्त नहोला । त्यसो त, यसको आफ्नै विशेष परिचय छ, जुन अझै पनि चिनाउनुपर्ने खासै जरुरी छैन । जनकपुर धार्मिक र सांस्कृतिक जगमा उभिएको प्राचीन नगरी हो । प्राचीनकालमा मिथिला, विदेह र तिरभुक्ति पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो । यसबारे रामायण, वेद, पुराणलगायत उपनिषद्मा र मिथिलाको उन्नत सभ्यताबारे व्याख्या गरिएको छ ।

पौराणिक जानकी मन्दिर
जनकपुरको चार दिशामा द्वारपालका रूपमा शिव मन्दिर छ । पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर । जनकपुरको मुटु मानिने ‘जनकचोक’बाट सीधै अगाडितिर हेरियो भने देखिन्छ— नीलो आकाशमुनि रंगीन देखिने, भव्य र कलात्मक दरबार । हेरिरहूँ लाग्ने मुगल र राजपुतना शैलीमा बनेको दरबार । मन्दिरको गर्भगृहमा मूर्ति छ । टिकमगढ, भारतकी महारानी भानुवृष कुँवरीले बनाउन लगाएकी दरबार जुन जानकी मन्दिर भयो । प्रेम उपहारको रूपमा बनाइएको थियो उक्त दरबार ।

मन्दिरको अगाडि राखिएको साइनबोर्डमा लेखिएको कुरा पढ्ने हो भने विसं १९५२ मा मन्दिर शिल्यान्यास गरिएको थियो । विसं १९६७ मा मन्दिर पूरा भयो । विशाल मन्दिर बनेको एक सय २१ वर्ष भइसक्यो । त्यसअघि भारतबाट आएका सन्तद्वय शुर किशोर दासले जानकी मन्दिर र चतुर्भूज गिरिले राम मन्दिर बनाएका थिए । पछि भानु कुँवरीले जानकी मन्दिर बनाइदिएझैं जनरल अमरसिंह थापाले ठूलो राम मन्दिर बनाएका थिए ।

जानकी मन्दिरको शतवार्षिकी २०५१ सालमा मनाइयो । मन्दिरका महन्थ रामतपेश्वर दासको कक्षमा सन्त तस्बिरको हारमा महारानी भानु कुँवरी पनि छन् । उनी छोरा लिएर प्रसन्न मुद्रामा बसेकी छन् भने साथमा राजा प्रताप सिंह । मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ । दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन । त्यहाँ पुग्दा दर्शनार्थीको भीड थियो । हाम्रो साथमा फूल, अक्षता, धुप केही थिएन । मनफूल चढायौं । गर्भगृहपछाडि सांस्कृतिक संग्रहालय छ । त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएकोसम्म झल्काउँछ । भुइँतलामा पुराना गहना र भेषभूषा छन् । मन्दिर प्राङ्गणमा फन्को लगाउँदा मजजाको भजन सुन्न पाइन्छ । भक्तजनहरू सीताराम, सीताराम ! गाइरहेका देखिन्छन् ।

जनकपुरमा नेपालीभन्दा भारतीय बढी आउँछन् । जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र विवाह मण्डप घुमेर फर्कन्छन् । तीन–चार घण्टा बिताउँछन् । जब कि दुई रात सजिलै बसेर घुम्न घुमफिर प्याकेज बनाउन सकिन्छ । रामले धनुष तोडेको रंगभूमि मैदान, जानकी मन्दिर, विवाह भएको ठाउँ मणिमण्डप, धनुषको टुक्रा खसेको ठाउँ धनुषाधाम, तलाउ र जलेश्वर मन्दिरलगायत समेट्न सकिन्छ । भारतीय सीमा जटही ११ किमि र भित्तामोड १९ किमि दुरीमा छ । सडक व्यवस्थित भए तीर्थालु बढ्छन् । विवाह पञ्चमीमा लाखौं भारतीय आउँछन् । त्यसबाहेक झुला महोत्सव, दशहरा, छठ र मिथिला परिक्रमाका बेला ठूलो मेला लाग्छ ।

उत्कृष्ट कलात्मक नमूना
जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेका छन् । सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ । मन्दिरमा बेलाबेलामा पुरातात्विक किसिमले रङरोगन नगरिदिँदा मन्दिरको चारैतिर विभिन्न रङका रङ्गीचङ्गी कला नष्ट हुने अवस्थामा पुगेको छ भने मन्दिरमा प्रयोग भएको सुर्खी र इँटालाई पनि प्रभावित गरेको छ ।

प्राध्यापक डा. पशुपतिनाथ झा पुरातात्विक परामर्शबिना रङरोगनले यसको विलक्षणतालाई नै समाप्त हुने स्थिति आउन सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ । सो मन्दिर वास्तुकलाकारिताको विलक्षण रहेको छ । इतिहास बुझ्दा मनोरञ्जक महल तर नजिकबाट हेर्दा मन्दिरै मन्दिरको सङ्गालो जस्तो देखिने सो मन्दिर परिसरमा रहेका ६० वटा कोठामध्ये अधिकांश कोठाका पर्खाल कालो भइसकेका छन् भने मन्दिर बाहिर आधुनिक किसिमले विश्राम कक्ष निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरूप बनाइएको छ ।  भगवान् रामकी अर्धाङ्गिनी सीताको इतिहाससँग जोडिको सो मन्दिरको सुन्दरता र भव्यता आफैंमा विशिष्ट रहेको छ । कसैकसैले यसलाई भारतको ताजमहलसँग तुलना गरेर पनि हेर्ने गरेका छन् ।

मन्दिरको वस्तुस्थिति
संस्कृतविद् राजेश्वर नेपालीका अनुसार भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास हुँदाताका नेपालमा मिथिला सभ्यताले शिखर चुमेको थियो । जनक र सीताबाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीय आदि विद्वानको थलो पनि हो जनकपुर । तर, लामो समय मिथिला सभ्यता मात्रै हैन, सिंगो जनकपुर परिदृश्यबाट लोप भएझैं भएको छ । करिब २ सय वर्षअघि भारतबाट आएका दुई जना साधुले राम र जानकी मन्दिर भएको अहिलेको जनकपुर पत्ता लगाएका थिए । वरिष्ठ पत्रकारसमेत रहेका नेपाली भन्छन्, ‘जनकपुरको सबैभन्दा ऐतिहासिक महत्वको सम्पदा जानकी मन्दिर नै हो । त्यो चलनचल्तीको नेपाली शैलीको मन्दिरजस्तो हैन, भव्य दरबारजस्तै बनाइएको मन्दिर हो ।’

तर पुरातत्वविद् तारानन्द मिश्रका अनुसार नेपाली वास्तुशैलीको मन्दिर भन्नासाथ काठमाडौं उपत्यकामा भेटिने प्यागोडा र शिखर शैलीको झल्को आउँछ धेरैका मनमा । यस हिसाबले जानकी मन्दिरको वास्तुकला अद्भूत, अनुपम र अद्वितीय छ । उनी भन्छन्, ‘भारतको ताजमहलभन्दा कुनै कम छैन जानकी मन्दिर । तर यसलाई विश्व प्रसिद्ध बनाउन अझै पनि सकिएको छैन ।’

मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजूर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार हेरिरहँदा यो भव्य सम्पदा परिसर विश्व सम्पदा सूचीमा किन सूचीकृत छैन भने प्रश्न उठाउनेको पनि कमी छैन । पर्यटन, ब्लगर एवं लेखक मिलन बगाले भन्छन्, ‘जब जानकी मन्दिरको भव्य तस्बिर हेर्छु, मन निकै हर्षित हुन्छ । तर मनमा धेरै प्रश्न खेल्न थाल्छ– आखिर यस मन्दिरको स्थान विश्व सम्पदा सूचीमा किन छैन ? विश्व सम्पदा सूचीमा सूचीकृत भएमा यसले अन्तर्राष्ट्रिय महत्व पाउँथ्यो ।’

जनकपुरको भाग्य र भविष्यको सुनौलो ढोका जानकी मन्दिर हो । संरक्षणमा जनकपुरको मात्रै हैन, सिंहदरबारको पनि ध्यान तानिनु जरुरी छ । २०७२ साल बैशाखको भुइँचालोले मन्दिरमा सामान्य क्षति मात्र भएको छ । नापी कार्यालय, जनकपुरमा कार्यरत प्रकाश पौडेल भन्छन्, ‘यसपालीको महाप्रलयमा बँचेको यो मन्दिरलाई भविष्यमा आउने भुइँचालोहरूबाट पनि बचाउनु छ । त्यसका लागि जानकी मन्दिर परिसर र जानकी मन्दिरको विस्तृत र व्यवस्थित नक्सांकनको जरुरी छ ।’
सिंहदरबार र पुरातत्व विभागबाहेक बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पनि यो बारेमा जागरूप हुनुपर्छ ।

जानकी मन्दिर, विवाह मण्डप र भूतनाथ मन्दिर (स्वर्गद्धार) को वास्तुकला र ती परिसरभित्रको सरसफाईको अवस्था हेर्दा सिंगो जनकपुर शहर सम्झेर बैराग्य लाग्ने गरेको ब्लगर एवं लेखक मिलन बगालेको कथन छ । उनी भन्छन्, ‘ढलका खोला नाघेर मान्छे घरको मूलढोकाबाट भित्रबाहिर गरिरहेछन् ।’ कुटी र मठहरू दिनदिनै भत्किँदै छन् । ऐतिहासिक पोखरीहरूमा ढल मिसाइएको छ ।  अतिक्रमण गरिएको छ । र, सुँगुँर चर्ने र भैसी आहाल बस्ने ठाउँ बनेको छ । सद्दे पीच भेटाउन रामानन्द चोकको जनकपुर गेटको अघिल्तिर उभिनुपर्छ । त्यत्रो बाह्र बिघा मैदान उजाड र फोहोर छ । बेस्सरी पैसा खर्च गरेर बडेबडे ढलान घर बनिरहेछन् । तिनको बाहिरी वनावटमा वास्तुकलाको आकर्षण फिटिक्कै छैन ।

मन्दिर होइन दरबार थियो
अहिले जानकी मन्दिर भनेर चिनिएको भए तापनि यसको सम्बन्ध भने धार्मिक किसिमको छैन । संस्कृत एवं इतिहासकार नमोनारायण झा भन्छन्, ‘जानकी र अहिलेको यो मन्दिरसंग कुनै सम्बन्ध छैन । भारतको ताजमहल जस्तै नेपालको जनकपुर महल हो ।’ उनका अनुसार धनुषा सागरमा भेटिएको राजा जनकको दरबारको अवशेषलाई ल्याइएर यहाँ प्रतिस्थापन गरिएको थियो र त्यसपछि यसको नाम जनकपुर मन्दिर भनियो । उनि फेरि भन्छन्, ‘यो पनि प्रेमकै प्रतीकको रूपमा बनाइएको महल हो, तर यसलाई पछि आएर मन्दिर बनाइएको हो ।’

उनका अनुसार भानुवृष कुँवरी र तत्कालीन राजा प्रतापको प्रेम उपहारको रूपमा उक्त महल बनाइएको थियो । राजस्थानका कालिगर समसुदिन तसगलकले बनाएको उक्त महलमा मिश्रित कलात्मक शैलीको प्रयोग भएको छ । झा भन्छन्, ‘यसमा मिथिलाको प्रतिक माछा समेत मिथिला आर्ट, राजस्थानी शैली, राजपुताना शैली, गुजराती ढाँचासहित विभिन्न धार्मिक रङ्गहरू समेत प्रयोग गरिएको छ । यसलाई धार्मिक स्थालको रूपमा तत्कालिन समयमा बनाइएकै होइन । झा फेरि भन्छन्, ‘यो त मनोरञ्जन आनन्द र प्रेमिल स्थलको रूपमा बनाएको महल हो ।’

राज्यले यसलाई संरक्षण गर्न सकेन । हत्तारमा यसलाई मन्दिरको रूप दिइयो । सर्वजनिक गुठीलाई यसको भोग्य अधिकार दिइयो । उक्त मन्दिरमा हिन्दुको धेरै झलकहरू देख्न पाएता पनि जानकी मन्दिर भने मुस्लमानले बनाएको र त्यसमा मुस्लिम शैली र कलाहरूको समेत प्रयोय भएको छ । मिश्रित शैलीमा बनाइएको यस महलको कलात्मक शैली भारतको ताजमहलसंग समेत मेल खान्छन् । अर्का संस्कृतिविद् महेन्द्रनारायण मिश्र भन्छन्, ‘ताजमहलमा मात्र मुस्लिम धर्मसंग मेल खाने खालका कला र ढाँचाहरूको प्रयोग गरिएको छ तर यस मन्दिरमा भने मिश्रित कलात्मक शैली देखिन्छ । त्यो नै यसको प्रमाण हो । यो प्रेमिल महल थियो ।’

अभिलेखालयमा छैन कुनै अभिलेख
काठमाडौं स्थित पुरातत्व विभागमा भने जानकी मन्दिरबारे खासै कुनै अभिलेख पाइदैन । यो मन्दिर कहिले स्थापना भएको हो ? कसले बनाएको हो ? यसको इतिहास के ? यसबारे खासै कुनै अभिलेख पाइदैन । पुरातत्व विभागका गोपालप्रसाद झा भन्छन्, ‘यसैको अध्ययन अनुसन्धानबारे विभागले एउटा समिति नै बनाउदै छ । विभिन्न विज्ञहरूलाई राखेर उक्त समिति बनाइने छ र त्यो समितिले दिएको प्रतिवेदनलाई मात्र अभिलेखको रूपमा स्वीकार गरिनेछ ।’ नयाँ शैली अपनाएर पुराना दस्तावेज र अवशेषहरूलाई आधार बनाएर जानकी मन्दिरको अभिलेख तयार गर्ने तयारीमा छ विभाग ।

प्राचीन इतिहास
प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ ।  भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । यो मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।

मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मेको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन  भदौमा झुला, फागुनमा परिक्रमालगायत चाड मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाको पूर्णिमामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास गरिको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकपुरधाम । इन्टरनेटमा पनि यसबारे कयौं जानकारीहरू पाइन्छ, विकिडियामा यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारी कुमारी वृषभानुद्वारा निर्माण गरिएको भनिएको छ ।

यो नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो मन्दिर हो । मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ । वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।

राजा जनक
प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए राजा जनक । यिनको राजधानी हालको नेपालमा पर्ने जनकपुर शहर थियो भन्ने विश्वास छ । राजा जनकको जन्म अहिलेको जनकपुर शहरमा नै भएको थियो । राजा जनकको वास्तविक नाम सिरध्वज हो । जनक उनको वंशको नाम थियो भन्ने विश्वास गरिन्छ । पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता थिए । यिनी नेपालका राष्ट्रिय विभूति पनि हुन् ।

जानकी अर्थात् सीता
सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन् । सीता मिथिलाको राजा जनकको जेठी छोरी थिईन । उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र रामसित स्वयंवरमा शिवको धनुष भंग गरेपछि भयो । भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजर्षि जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नुपर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ । प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन् । उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन् ।

सीताको जन्म
आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनुका साथै रहस्यमयी छन् । साँच्चै भन्ने हो भने सीताका आमाबाबु दुवै अज्ञात छन् । हुन त सीता नामले उनका बारेमा जान्न चाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ । विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ ‘जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा’ रहेका छन् । सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ । यज्ञभूमि तयार पार्न राजर्षी जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ । सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन । वाल्मीकि रामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण (तमिलरामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन् ।

विश्व सम्पदामा सूचीकृत गराउन पहल
भोर नाम एक समाजिक संस्थाको पहमा मिथिलाको प्राचीन राजधानी जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल थालिएको छ । भोरका अध्यक्ष राजकुमार महतोका अनुसार जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन सबै किसिमको प्रक्रिया पुरा गरिएको छ । पुरातत्व बिभागले समेत सक्रियता देखाइसकेको छ ।

उनका अनुसार स्थानीय स्तरबाट पहल हुँदै आए पनि सरकारले अग्रसरता नलिएको अहिलेसम्म सुचीकृत हुननसकेको हो । जानकी मन्दिरलाई ट्रष्टको रूपमा विकास गरेर विश्व सम्पदा सूचीका लागि पहल बढाउनुपर्ने स्थानीय बुद्धिजीवीको भनाइ छ । आवश्यक संरचनाको विकास गरी जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराइए जनकपुरमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

Comments